काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ, जसले उपभोक्तामा थप आर्थिक भार परेको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरिएको हो।
निगमका अनुसार पछिल्लो समय पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ्दै गएको छ। यही कारण देखाउँदै निगमले मूल्य समायोजन गर्नुपरेको जनाएको छ।
मूल्यवृद्धिपछि पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा कायम भएको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल १८६ रुपैयाँ पुगेको छ भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८७ रुपैयाँ कायम गरिएको छ।
निगमले पछिल्ला १५ दिन (मार्च १६ देखि ३१ सम्म) मा करिब ५ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ। यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको वर्तमान प्रवृत्ति जारी रहेमा आगामी १५ दिनमा थप १५ अर्ब रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा तत्काल स्वदेशी मूल्य पनि समायोजन गरिने निगमले जनाएको छ।
यसअघि पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो, जसले बजार मूल्य र दैनिक जीवनयापनमा प्रत्यक्ष असर पारिरहेको छ।





