काठमाडौं – वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १४ बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ औसत ब्याजदर ४.४९ प्रतिशत कायम भएको छ। अघिल्लो महिना फागुनमा व्यक्तिगततर्फ औसत ब्याजदर ४.५७ प्रतिशत थियो। त्यसैगरी संस्थागत मुद्दती निक्षेपतर्फ औसत ब्याजदर ३.२९ प्रतिशतमा झरेको छ, जुन फागुनमा ३.३३ प्रतिशत रहेको थियो।
चैतका लागि ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। यी बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा क्रमशः ४.११ प्रतिशत, ४.५ प्रतिशत, ४.१२ प्रतिशत, ४.५ प्रतिशत, ४.१५ प्रतिशत र ४.११ प्रतिशत ब्याजदर तोकेका छन्।
यस्तै, १४ बैंकले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक र सिद्धार्थ बैंकले ४.२५ प्रतिशत ब्याजदर कायम राखेका छन् भने सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत ब्याजदर दिने भएका छन्।
त्यसैगरी प्रभु बैंक र नबिल बैंकले ४.५५ प्रतिशत ब्याजदर कायम राखेका छन्। एनएमबि बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा उच्च ५ प्रतिशत ब्याजदर दिने भएका छन्।
बैंकहरूले बजारको तरलता अवस्था, लगानीको माग तथा मौद्रिक नीतिको अवस्थालाई ध्यानमा राख्दै ब्याजदर निर्धारण गर्दै आएका छन्।




