काठमाडौं — म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन चुनाव जितेलगत्तै आफ्नै पुरानो काममा फर्किएका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा दोब्बरभन्दा बढी मतान्तरले विजयी भएका पुन सोमबार पोखरा पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्।
पुनले पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत स्थानमा पुस्तक बिक्री गरेका थिए। उनले एकैदिन ८०० प्रति पुस्तक बिक्री गरेर करिब ६ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिएका छन्। “आज एकैदिन ८०० पुस्तक बिक्री भयो, काठमाडौँबाट थप पुस्तक मगाएको छु,” उनले भने।
पोखरामा उनलाई भेट्न आउनेहरूकाे निकै भीड लागेको थियो। धेरैले उनीसँग फोटो खिचे, हस्ताक्षर गराए र पुस्तक किनेर लगे। पुनले आफूले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालन गर्न आर्थिक स्रोत जुटाउन तीन वर्षदेखि आफ्नो आत्मकथा पुस्तक बिक्री गर्दै आएका छन्।
निर्वाचनअघि पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर जन्मथलो म्याग्दीमा चुनाव लडेका थिए। उनी लोकप्रिय मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
पुनले चुनाव जितेपछि समर्थकलाई तडकभडकसहित विजय उत्सव नगर्न आग्रह गर्दै पुरानै दिनचर्यामा फर्किएको बताएका छन्। “अहिले निर्वाचन आयोगले सबै परिणाम सार्वजनिक गरिसकेको छैन, फुर्सदको समय सदुपयोगका लागि पुस्तक बिक्री गर्न निस्किएको हुँ,” उनले भने।
म्याग्दी निर्वाचन क्षेत्रमा पुनले २२ हजार ८५० मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१० मत पाए भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६७६ मत प्राप्त गरेका थिए।




