
काठमाडौं –साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८२ अंकले घटेर २,५९८.८९ विन्दुमा बन्द भएको छ। यससँगै नेप्से नौ कारोबार दिनपछि पुनः २६०० विन्दुभन्दा तल झरेको हो। यसअघि गत भदौ २९ गते नेप्से २६०० विन्दुभन्दा तल बन्द भएको थियो।
बुधबार सेन्सेटिभ इन्डेक्स २.०२ अंकले घटेको छ। यस्तै, फ्लोट इन्डेक्स ०.४३ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले घटेको छ।
नेप्से परिसूचक घटे पनि बजारमा कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ३५२ स्टकको ४७ हजार ९०० पटकको कारोबारबाट ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको १ करोड २६ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ।
बुधबार सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशतले वृद्धि भएको छ। सयपत्री हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत तथा घलेम्दी हाइड्रोको शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ। मूल्य घटेका स्टकहरूको गिरावट भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको १८ करोड ५० लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।
कुल १३ उपसमूहमध्ये बुधबार तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशतले बढेको छ। यस्तै, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ।






Leave a Reply