
काठमाडौं — वर्षा रोकिएसँगै बाढीपहिरोका कारण अवरुद्ध भएका प्रमुख राजमार्ग खुलाउने काम तीव्र पारिएको छ । पृथ्वी राजमार्गसहित अवरुद्ध सडकहरू आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
बुधबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायतका सडकमा बाढीपहिरो खसेपछि यातायात प्रभावित भएको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाएर आइतबारदेखि नै सवारी सञ्चालनमा ल्याइएको छ । मुग्लिन–काठमाडौं सडकखण्डमा पनि अधिकांश स्थानका पहिरो हटाइसकिएको छ । यद्यपि केही स्थानमा सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा छन् ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा आइतबार साँझ ठूलो ढुंगासहित पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्डमा दुईतर्फी यातायात अवरुद्ध भएको छ । रातिको समयमा पहिरो हटाउन सम्भव नभएपछि सोमबार बिहानैदेखि हटाउने काम सुरु गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार पानीधाराको पहिरो हटाएपछि काठमाडौं जाने सडक पूर्ण रूपमा सञ्चालनमा आउनेछ । तर सडक खुलेपछि पनि कृष्णभिर क्षेत्रको सडकको अवस्था निरीक्षण गरेर मात्रै सवारी सञ्चालन गर्ने वा नगर्ने निर्णय गरिने प्रहरीले जनाएको छ ।
यसैगरी कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरअन्तर्गत मूलघाट–फिदिम सडक, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुबाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा खसेका पहिरो हटाउने काम पनि जारी छ ।
पहिरो हटाउन सम्भव भएका स्थानमा सडक सफा गर्ने तथा सडक भत्किएका ठाउँमा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।






Leave a Reply