
काठमाडौं — नेपाल टेलिकमले आफ्ना प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै विश्वका ६२ देशमा सेवा उपलब्ध गराएको जनाएको छ। कम्पनीले ८९ वटा विदेशी दूरसञ्चार सेवा प्रदायकसँग सहकार्य विस्तार गरेपछि सेवा दायरा बढेको हो।
चालु आर्थिक वर्षको साउनपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको कम्पनीले जनाएको छ। यसैगरी पाकिस्तान, बेलारुस र श्रीलंकामा पनि थप सेवा विस्तारको प्रक्रिया अघि बढाइएको छ।
यसअघि अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, जर्मनी, भारत, जापान लगायतका देशमा उपलब्ध रोमिङ सेवा अब मलेसिया, मेक्सिको, नेदरल्यान्ड, न्युजिल्यान्ड, कतार, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, यूएई, यूके, यूएसए लगायत थप देशमा विस्तार गरिएको छ।
रोमिङ सेवाअन्तर्गत प्रयोगकर्ताले भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। विदेश यात्रा गर्ने वा बसोबास गर्ने नेपालीका लागि यो सेवा उपयोगी हुने कम्पनीको विश्वास छ।
प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सक्रिय हुने व्यवस्था गरिएको छ। भारतमा भने *१४१५# डायल गरी ‘रोमिङ’ विकल्प चयन गर्नुपर्ने हुन्छ। पोस्टपेड प्रयोगकर्ताले सेवा प्रयोग गर्न मोबाइलमा कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स राख्नुपर्नेछ।
नेपालमै रहँदा *१४१५# डायल गरेर रोमिङ सेवा सक्रिय गर्न सकिनेछ। विदेश पुगेपछि सेवा सक्रिय नभए कम्पनीको वेबसाइटबाट फाराम डाउनलोड गरी आवश्यक विवरण भरेर नागरिकता वा पासपोर्टको प्रतिलिपिसहित इमेलमार्फत अनुरोध गर्न सकिने व्यवस्था गरिएको छ।
रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा जडान हुन्छ। भारतमा भने प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्नेछ भने अन्य देशमा स्वतः कनेक्ट नभए मोबाइल सेटिङमार्फत सेवा प्रदायक छनोट गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले आगामी दिनमा थप देशमा पनि सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।






Leave a Reply