काठमाडौं – करिब २५० जना नेपाली नागरिकलाई गैरकानुनी माध्यम प्रयोग गरी अमेरिका प्रवेश गराएको आरोपमा दुई जनाविरुद्ध ९८ करोड रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोको अनुसन्धानपछि उनीहरूमाथि काठमाडौं जिल्ला अदालतमा अभियोग पेश गरिएको हो।आरोपितहरू रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ निवासी कलबहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ निवासी अमित बस्नेत रहेका छन्। अनुसन्धानबाट उनीहरूले नेपाली नागरिकलाई विभिन्न देश हुँदै अवैध मार्ग प्रयोग गरी अमेरिका पुर्याउने काम गरेको खुलेको छ।
अमेरिका पठाइदिने आश्वासनमा केही व्यक्तिलाई बीच बाटोमै अन्य देशमा अलपत्र पारिएको तथा मानव बेचबिखन, ठगी र वैदेशिक रोजगार ठगीसमेत गरिएको तथ्य फेला परेको जनाइएको छ। प्रहरीका अनुसार गैरकानुनी गतिविधिबाट आर्जित रकम नगद तथा आफ्नै नाममा सञ्चालित विभिन्न बैंक खातामार्फत जम्मा गरी शुद्धीकरण (मनी लाउन्डरिङ) गरिएको थियो।
सोही आधारमा मनी लाउन्डरिङ निवारण ऐन, २०६४ अन्तर्गत दफा ३ उपदफा (१) का खण्ड (क), (ख) र (ग) तथा उपदफा (३) बमोजिम कसुर लगाइएको छ। अनुसन्धानका क्रममा कलबहादुर बस्नेतको नाममा रहेको बैंक खाताहरूमा कसुरजन्य कार्यबाट प्राप्त ७० करोड ६० लाख ५३ हजार रुपैयाँ बिगो कायम गरिएको छ।
त्यस्तै, अमित बस्नेतको हकमा २७ करोड ४५ लाख २९ हजार ७ सय ५१ रुपैयाँ २७ पैसा बिगो निर्धारण गरिएको छ। यसरी दुवैको कुल बिगो ९८ करोड ५ लाख ८२ हजार ७ सय ५१ रुपैयाँ २७ पैसा पुगेको छ।
अभियोगपत्रमा बिगोको दोब्बर जरिवाना र कसुरको गम्भीरता अनुसार दुई वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजाय माग गरिएको छ। साथै, आरोपितहरूको नाममा रहेका घरजग्गा, बैंक मौज्दात तथा बिमा रकम जफत गर्नसमेत मागदाबी गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालत, बबरमहलमा आरोपपत्र दर्ता भई मुद्दा न्यायिक प्रक्रियामा प्रवेश गरेको छ।




