
काठमाडौं — व्यवसायिक लाभका लागि बीमा कम्पनीको रकम दुरुपयोग गरेको आरोपमा दीपक भट्टसहित विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध बीमा कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दायर भएको छ।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रअनुसार हिमालयन रिइन्स्योरेन्सबाट एलियण्ट इन्स्योरेन्स ब्रोकर्सलाई दिइएको करिब २८ करोड रुपैयाँ पेश्कीमध्ये २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा वास्तविक बीमा कारोबारबिना झुटा कारोबार तथा कागजी लेखांकनमार्फत फर्छ्योट गरिएको आरोप छ।
अभियोजन पक्षले एलियण्ट इन्स्योरेन्स ब्रोकर्स भट्टको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रणमा रहेको दाबी गर्दै बीमा रकम विभिन्न कम्पनी तथा लगानीमार्फत घुमाएर व्यक्तिगत लाभमा प्रयोग गरिएको आरोप लगाएको छ।
भट्टविरुद्ध बीमा कसुरतर्फ २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा र सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड १५ लाख रुपैयाँ बिगो कायम गरी कानुनबमोजिम सजाय माग गरिएको छ।
मुद्दामा हिमालयन रिइन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखरन रामामूर्ति, शेखर गोल्छासहितका तत्कालीन सञ्चालक तथा एलियण्टका पदाधिकारीहरूलाई समेत प्रतिवादी बनाइएको छ।
अनुसन्धानका क्रममा भट्टको लगानी लुकाउन प्रयोग गरिएको भनिएको बा १९ च ३४०६ नम्बरको मर्सिडिज–बेन्ज गाडी समेत बरामद भएको र जफत गर्न माग गरिएको अभियोगपत्रमा उल्लेख छ।
अभियोजन पक्षका अनुसार भट्टले आफू वास्तविक धनी रहने गरी सासुको नाममा एलियण्ट इन्स्योरेन्स ब्रोकेज कम्पनी स्थापना गराई हिमालयन रिइन्स्योरेन्सबाट रकम पेश्की दिलाएको र हुँदै नभएको कारोबार देखाएर फर्छ्योट गरेको अनुसन्धानबाट खुलेको छ।






Leave a Reply