मोरङ – पछिल्लो समय अपरिचित नम्बरबाट फोन गरी आफू बैंकको प्रतिनिधि भएको दाबी गर्दै खातासम्बन्धी गोप्य विवरण माग्ने तथा ओटीपी, पिन नम्बर र मोबाइल बैंकिङसम्बन्धी जानकारी संकलन गर्ने घटनामा वृद्धि भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ठगहरूले “तपाईंको केवाइसी अपडेट अधुरो छ”, “खाता बन्द हुन लाग्यो”, “डकुमेन्टमा समस्या देखियो” जस्ता बहाना बनाउँदै सेवाग्राहीलाई त्रसित पारेर ओटीपी र अन्य गोप्य कोड माग्ने गरेका छन्। यस्तै, वाट्सएप तथा अन्य सामाजिक सञ्जालमार्फत भिडियो कल गरी अनुहार देखाउन र बैंकको मोबाइल एप खोल्नसमेत लगाउने प्रयास भइरहेको जनाएको छ।
यसरी प्राप्त गरिएको गोप्य विवरण प्रयोग गरी खाताबाट रकम चोरी गर्ने जोखिम बढ्दै गएकाले यस्ता अपरिचित नम्बरबाट आउने फोन तथा सन्देशप्रति सजग रहन प्रहरीको आग्रह छ। कुनै पनि अवस्थामा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड वा बैंकिङसम्बन्धी गोप्य जानकारी कसैलाई नदिन स्पष्ट निर्देशन दिइएको छ।
शंका लागेमा वा ठगी प्रयास भएको आशंका भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित बैंकमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ। प्रहरीले जनताको आर्थिक सुरक्षाका लागि सचेतना अपनाउन सबैमा अपिल गरेको छ।




