
काठमाडौं — हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म रहने पितृपक्षमा दिवङ्गत पितृको सम्झनामा तर्पण, पिण्डदान, सिदादान तथा श्राद्ध गर्ने परम्परा रहेको छ ।
पितृप्रति श्रद्धापूर्वक विभिन्न कर्म गरिने भएकाले नेपाली समाजमा यसलाई ‘सोह्रश्राद्ध’ भन्ने गरिन्छ । बडादशैं र तिहारजस्ता ठूला चाडपर्वअघि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व सम्झाउने धार्मिक मान्यता छ ।
पितृपक्ष सुरु भएसँगै काठमाडौंको पशुपति क्षेत्रलगायत विभिन्न तीर्थस्थलमा दिवङ्गत आफन्तको सम्झनामा तर्पण तथा पिण्डदान गर्न श्रद्धालु पुग्ने गरेका छन् ।
शास्त्रीय मान्यताअनुसार पितृको मृत्यु भएको तिथिकै आधारमा सोह्रश्राद्धमा श्राद्ध गर्ने गरिन्छ । प्रतिपदादेखि औंसीसम्मका तिथिमा पितृको तर्पण तथा श्राद्ध गर्ने परम्परा रहेको छ । मृत्यु तिथि थाहा नभएका व्यक्तिका लागि भने पञ्चमी, अष्टमी, द्वादशी वा औंसीका दिन श्राद्ध गर्ने चलन रहेको बताइन्छ ।
श्राद्धका क्रममा पितृको नाममा तर्पण, पिण्डदान तथा भोजन र दान गर्ने गरिन्छ । पवित्र जलमा कुश, तिल, जौ, फूल, चन्दनलगायत सामग्री प्रयोग गरी पितृको नाममा जल अर्पण गर्ने कर्मलाई तर्पण भनिन्छ ।
धार्मिक ग्रन्थहरूमा पनि पितृपक्ष तथा श्राद्धको महत्त्वबारे उल्लेख गरिएको पाइन्छ । गरुड पुराण, विष्णु पुराण तथा महाभारतमा पितृकर्मको महत्त्व व्याख्या गरिएको धार्मिक मान्यता छ ।
शास्त्रीय विधानअनुसार वार्षिक तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध मध्याह्नमा, पितृपक्षमा गरिने पार्वण श्राद्ध अपराह्नमा र आभ्युदयिक श्राद्ध प्रातःकालमा गर्ने उल्लेख छ ।
सम्भव भएसम्म गृहस्थीले आफ्नै घरमा श्राद्ध गर्नुपर्ने मान्यता रहेको छ । सहरी क्षेत्रमा डेरामा बस्नेहरूका लागि भने नजिकको तीर्थस्थल, नदी, मन्दिर वा तुलसीको मठमा श्राद्ध तथा तर्पण गर्न सकिने धार्मिक परम्परा रहेको छ ।
पितृपक्षमा पितृहरू पितृलोकबाट पृथ्वीमा आउने र आफ्ना सन्तानबाट तर्पण, पिण्डदान तथा श्राद्धको अपेक्षा गर्ने धार्मिक विश्वास छ । श्रद्धापूर्वक पितृकर्म गरेमा परिवारमा सुख, शान्ति, समृद्धि तथा वंशवृद्धिको आशीर्वाद प्राप्त हुने शास्त्रीय मान्यता रहिआएको छ ।






Leave a Reply