
काठमाडौं — पीएचपी प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा आउन थालेका छन्। सुरक्षा प्याच लागू गरी परीक्षण सम्पन्न भएपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू सामान्य अवस्थामा फर्किएका हुन्।
अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात कार्यालय, मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकलगायत अधिकांश सरकारी निकायका वेबसाइटहरू खुल्न थालेका छन्।
साइबर सुरक्षा निकायहरूले पीएचपीमा देखिएको सुरक्षा कमजोरीलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई तत्काल सुरक्षा अपडेट लागू गर्न निर्देशन दिएका थिए। सुरक्षा अपडेट लागू गर्न नसक्ने अवस्थामा सम्भावित जोखिमबाट बच्न वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न आग्रह गरिएको थियो। सोहीअनुसार नेपालका विभिन्न सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू बन्द गरिएका थिए।
नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आवश्यक सुरक्षा प्याच लागू गर्ने र परीक्षण गर्ने काम सम्पन्न भएपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आएका हुन्। अझै सञ्चालनमा आउन बाँकी रहेका सेवाहरूलाई पनि छिट्टै नियमित अवस्थामा फर्काउन केन्द्रका कर्मचारीहरू खटिरहेका छन्।
केन्द्रका अनुसार सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू सुरक्षित रूपमा सञ्चालनमा ल्याउने कार्य दसैं बिदाका समयमा समेत जारी राखिएको थियो। कर्मचारीहरूले निरन्तर काम गरेपछि अधिकांश सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको हो।
सरकारी वेबसाइटहरू बन्द हुँदा नागरिकले विभिन्न सरकारी सूचना तथा अनलाइन सेवामा पहुँच पाउन कठिनाइ भोग्नुपरेको थियो। वेबसाइटहरू पुनः सञ्चालनमा आउन थालेसँगै ती सेवा प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।






Leave a Reply