काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका विभिन्न सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउन नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
बैंकका नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षा रहेको सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले यो पोर्टल सार्वजनिक गरिएको हो।
बैंकद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, इच्छुक ग्राहकहरूले बैंकको आधिकारिक लिलाम सहायता पोर्टलमार्फत लिलाममा रहेका सम्पत्तिहरूको सम्पूर्ण विवरण हेर्न सक्नेछन्। यसमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, साथै गुगल म्यापसहितको लोकेसन सुविधा पनि उपलब्ध गराइएको छ, जसले ग्राहकहरूलाई घरमै बसेर विस्तृत जानकारी लिन सहज बनाउनेछ।
यस पोर्टलमा सोधपुछको सुविधा समेत राखिएको छ। ग्राहकहरूले आफ्नो नाम, ईमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सिधै बैंकलाई सन्देश पठाउन सक्नेछन्।
बैंकले पोर्टलमा नियमित रूपमा नयाँ लिलाम हुने सम्पत्तिहरूको विवरण अपडेट गरिने जानकारी समेत दिएको छ।




