बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुई महिनामै निजी क्षेत्रमा ९३ अर्बभन्दा बढी कर्जा प्रवाह, बैंकको निक्षेप ८३ खर्ब नाघ्यो

काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा १.६…


विज्ञापनAdvertisement Banner
◷
4 min read

काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले वृद्धि भई ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड रुपैयाँ अर्थात् ०.९ प्रतिशतले मात्र बढेको थियो। वार्षिक विन्दुगत आधारमा भने निजी क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ।

बैंकमा निक्षेप ८३ खर्ब ४९ अर्ब रुपैयाँ

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ७२ अर्ब ८० करोड रुपैयाँले बढेर ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। यो ०.९ प्रतिशतको वृद्धि हो। गत वर्षको सोही अवधिमा निक्षेप ३२ अर्ब ८६ करोड रुपैयाँ अर्थात् ०.५ प्रतिशतले बढेको थियो।

वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

कुल निक्षेपमा बचत निक्षेपको हिस्सा ४८ प्रतिशत पुगेको छ। त्यस्तै, चल्ती निक्षेपको हिस्सा ७.५ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ३४.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा बचत निक्षेपको हिस्सा ३८ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ४७.९ प्रतिशत थियो। यसले कुल निक्षेपमा बचतको हिस्सा बढेको र मुद्दती निक्षेपको हिस्सा घटेको देखाउँछ।

त्यसैगरी, कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३३.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको भदौ मसान्तमा यस्तो हिस्सा ३५.२ प्रतिशत थियो।

वाणिज्य बैंकको कर्जा वृद्धि उच्च

निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशतले बढेको छ। विकास बैंकहरूको कर्जा ०.६ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा १.४ प्रतिशतले वृद्धि भएको छ।

निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी हिस्सा क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत थिए।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कुल कर्जामध्ये घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६२.८ प्रतिशत रहेको छ। कृषि तथा गैरकृषिजन्य चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा १५.६ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो हिस्सा क्रमशः ६४.३ प्रतिशत र १५.१ प्रतिशत थियो।

खनिज र उत्पादन क्षेत्रमा कर्जा बढ्यो

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विभिन्न आर्थिक क्षेत्रमा प्रवाहित कर्जामा मिश्रित अवस्था देखिएको छ। खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशतले बढेको छ भने यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा ७.६ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रमा ७.३ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, निर्माण क्षेत्रमा ३.७ प्रतिशत, सेवा उद्योगमा २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा २.१ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा १.९ प्रतिशतले कर्जा बढेको छ। उपभोग्य क्षेत्रमा प्रवाहित कर्जा ०.२ प्रतिशतले वृद्धि भएको छ।

तर वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले घटेको छ। कृषि क्षेत्रतर्फको कर्जा पनि २.२ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

आयात कर्जा बढ्दा क्यास क्रेडिट घट्यो

कर्जाका विभिन्न प्रकारमध्ये ट्रस्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशतले बढेको छ। विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल इस्टेट कर्जा १.४ प्रतिशत तथा माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशतले वृद्धि भएको छ। मार्जिन प्रकृतिको कर्जा ०.८ प्रतिशतले बढेको छ।

यस अवधिमा क्यास क्रेडिट कर्जा १.३ प्रतिशतले घटेको छ। अधिविकर्ष कर्जा १.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *