काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी २०८२ चैत २९ गते गरिनेछ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिनेछ।
केन्द्रीय बैंकले जनाएको अनुसार बोलकबोलको आधारमा रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ र सोही क्रममा आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन गरिएको रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोका रूपमा रहनेछ। त्यसैले उक्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, केन्द्रीय बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था रहेको छ।




