काठमाडौं – जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडाले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा रु ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको जनाएको छ। सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ हजार ४१४ सवारी चालकलाई कारबाही गरिएको कार्यालयले जानकारी दिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा ३० हजार ३४ सवारी चालकलाई कारबाही गर्दै रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरिएको थियो।
चालु आवमा मकवानपुर जिल्लामा १९६ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने ३८६ जना घाइते भएका छन्। अघिल्लो आवमा ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु र ९६५ जना घाइते भएका थिए।
पछिल्लो समय ट्राफिक सचेतना कार्यक्रम र नियमित चेकजाँचमा कडाइ गरिएकाले दुर्घटनामा हुने मानवीय क्षतिमा कमी आएको जनाइएको छ। चालु आवमा विद्यार्थी, नयाँ चालक, व्यवसायी तथा कर्मचारीलगायतलाई लक्षित गरी ५४७ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ३९ हजार २४६ जना लाभान्वित भएका छन्।
यसका साथै विभिन्न स्थानमा पर्चा–पम्पलेट वितरण, स्टिकर टाँस तथा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमसमेत सञ्चालन गरिएको छ। बढ्दो सवारी चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण दुर्घटना हुने गरेकाले यसबारे थप सचेतना अभियान सञ्चालन गरिएको बताइएको छ।




