
काठमाडौँ – शेयर बजारमा गिरावटको क्रम जारी रहेको छ। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन गत शुक्रबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही ओरालो यात्रालाई निरन्तरता दिएको हो। सूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंकले घटेका छन्।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३५९ वटा स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको ९० लाख ३ हजार कित्ता शेयर किनबेच भएका छन्।
यस दिन १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक डिबेञ्चरको मूल्य ५.७५ प्रतिशतले बढेको छ भने १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशतले वृद्धि भएको छ। बजारका शीर्ष १० गेनर्समा अधिकांश ऋणपत्रहरूकै बाहुल्यता रहँदा त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य भने सर्वाधिक ५.८४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहन सफल भएको छ, जसको २२ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो। यस्तै हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख र शिवम सिमेन्ट्सको ८ करोड ४३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये केवल व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन्। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले घट्दा होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।






Leave a Reply