
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार श्रेष्ठले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठको नियुक्ति भएको मिति २०५३ असार २७ गतेदेखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो।
उक्त अवधिमा श्रेष्ठ र उनका एकाघर परिवारका सदस्यको वैधानिक आय तथा खर्चको विस्तृत विश्लेषण गर्दा विभिन्न स्रोतबाट ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ ८७ पैसा वैधानिक आय भएको देखिएको अख्तियारले जनाएको छ।
तर सोही अवधिमा उनी र उनका परिवारका सदस्यले जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारीसाधन खरिद, छोरीहरूको अध्ययन खर्च, कर्मचारी सञ्चयकोष तथा व्यक्तिगत ऋण–सापटी भुक्तानीलगायतमा १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ।
वैधानिक आयबाट कुल खर्च तथा लगानी घटाउँदा ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारले जनाएको छ।
आयोगका अनुसार श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये केही उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत रहेको पाइएको छ। सोही आधारमा श्रेष्ठविरुद्ध बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ।
त्यस्तै, श्रेष्ठले वास्तविक सम्पत्तिभन्दा बढाई तथा रहेको सम्पत्ति लुकाईछिपाई झुट्टा विवरणसमेत दिएको अनुसन्धानबाट पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम थप सजाय तथा लुकाइएको सम्पत्ति जफत गर्न माग गरेको छ।
श्रेष्ठकी श्रीमती कमला श्रेष्ठलाई भने गैरकानुनी रूपमा आर्जन गरिएको स्रोत नखुलेको सम्पत्तिबाट उनको एकल तथा संयुक्त नाममा खरिद गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित तथा निषेधित कसुर गरेको अभियोग लगाइएको हो।






Leave a Reply