
काठमाडौं -साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। लगातार छ कारोबार दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार भने ९.२४ अंकले उकालो लागेको हो।
मंगलबारको कारोबारपछि नेप्से परिसूचक २५२२.६६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले वृद्धि भएको छ।
परिसूचकमा सुधार आए पनि बजारको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएकोमा मंगलबार २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँबराबरको कारोबार भएको हो।
मंगलबार ३४१ स्टकको ४८ हजार ३४१ पटक कारोबार हुँदा ७६ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्यमा उच्च वृद्धि
मंगलबार कारोबार भएका कम्पनीमध्ये माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ। एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ६ प्रतिशतले वृद्धि हुँदा इमर्जीङ्ग नेपालको शेयरमूल्य पनि करिब ५ प्रतिशतले उकालो लागेको छ।
यसको विपरीत, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.४८ प्रतिशतले घटेको छ।
सोलु हाइड्रोपावरको कारोबार सर्वाधिक
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर मंगलबार शीर्ष स्थानमा रहेको छ। कम्पनीको १३ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम पनि १० करोड रुपैयाँभन्दा माथि पुगेको छ।
१२ उपसमूहमा वृद्धि
मंगलबार १३ मध्ये १२ वटा उपसमूहको परिसूचक बढेका छन् भने उत्पादन तथा प्रशोधन उपसमूहमा गिरावट आएको छ।
जलविद्युत उपसमूहको परिसूचक १.०१ प्रतिशतले बढ्दै सबैभन्दा उच्च वृद्धि हासिल गरेको छ। उता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०० प्रतिशतले घटेको छ।
यसरी, लगातारको गिरावटपछि मंगलबार नेप्सेमा सुधार देखिए पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा कमजोर भएको छ।






Leave a Reply