
कर्णाली विकास बैंकसँग सम्बन्धित बैंकिङ कसुरको मुद्दामा फरार रहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाह सहित तीन जनालाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार उनीहरूलाई शुक्रबार नेपालगन्जबाट नियन्त्रणमा लिइएको हो। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका सीईओ निरजविक्रम शाह, नेपालगन्ज उपमहानगरपालिका–१२ निवासी ३९ वर्षीया दीपा थापा तथा ४३ वर्षीया सुभेच्छा श्रेष्ठ पक्राउ परेका छन्। सीईओ शाहको स्थायी ठेगाना पनि नेपालगन्ज उपमहानगरपालिका–१२ नै रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीनै जना बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। पक्राउपछि उनीहरूलाई थप कानुनी प्रक्रिया अघि बढाउन शुक्रबार नै उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा उपस्थित गराइएको छ।
कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरिएपछि त्यसको व्यवस्थापन नेपाल राष्ट्र बैंकले प्रत्यक्ष रूपमा सम्हाल्दै आएको छ।






Leave a Reply