Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

देशभर मनसुन सक्रिय, आज राति वर्षा अझ तीव्र हुने सम्भावना

देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले काठमाडौँ उपत्यकासहित अधिकांश जिल्लामा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानबाहेक अन्य अधिकांश क्षेत्रमा वर्षा जारी रहेको छ। विभागका…


विज्ञापनAdvertisement Banner
2 min read

देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले काठमाडौँ उपत्यकासहित अधिकांश जिल्लामा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानबाहेक अन्य अधिकांश क्षेत्रमा वर्षा जारी रहेको छ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार विभिन्न स्थानमा मध्यमदेखि भारी तथा केही क्षेत्रमा अति भारी वर्षा मापन गरिएको छ। उहाँले वर्षाको क्रम अझै निरन्तर रहने र विशेषगरी आज राति वर्षा थप सक्रिय हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ।

विभागले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको विवरणअनुसार मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर वर्षा मापन भएको छ, जुन अति भारी वर्षाको श्रेणीमा पर्दछ। त्यसैगरी सुनसरीमा ११७ मिलिमिटर र उदयपुरमा १०६ मिलिमिटर वर्षा भएको छ।

काठमाडौँ उपत्यकामा पनि उल्लेखनीय वर्षा भएको छ। चन्द्रागिरि वर्षामापन केन्द्रमा ९३ दशमलव ६ मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ।

अन्य जिल्लामध्ये सिन्धुलीमा ९३, झापामा ८४, सङ्खुवासभामा ५२, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, सिन्धुपाल्चोकमा ६८, चितवनमा ८४, नवलपुरमा ८५, नवलपरासी पश्चिममा ६९, पाल्पामा ९८, बाँकेमा ५७ तथा कैलालीमा ५७ मिलिमिटर वर्षा भएको छ। विभागका अनुसार बाँकी अधिकांश जिल्लामा भने मध्यम वर्षा भएको छ।

हाल काठमाडौँ, उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, खोटाङ, बाग्लुङ, पर्वतलगायत जिल्लामा वर्षा निरन्तर भइरहेको छ।

मौसमविद्का अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा आफ्नो औसत अवस्थाभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई क्षेत्र नजिक रहेकाले वर्षा हुने क्रम जारी रहेको हो।

विभागले आज राति विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाएको छ। यस्तै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद् अर्यालका अनुसार वर्षा गराउने मौसमी प्रणाली रातिको समयमा अझ बढी सक्रिय हुने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आवश्यक छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/