spot_img
21.7 C
Kathmandu
spot_img
Homeसमाचारप्रतिनिधिसभामा सांसदहरूको समसामयिक मुद्दामा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा सांसदहरूको समसामयिक मुद्दामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, आधारभूत सेवा, पूर्वाधार, रोजगारी, आत्महत्या, विदेशमा नेपालीको मृत्यु तथा गणेश नेपालीको निधनलगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद जोगकुमार बरबरिया यादवले देशभरका किसानले समयमै मलखाद नपाउँदा खेती प्रभावित भएको उल्लेख गर्दै तत्काल आवश्यक व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद टेकबहादुर शाक्यले पनि किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

सांसद चन्द्रमोहन यादवले मुगुका युवक गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशमा बढ्दो निराशाजनक अवस्थाप्रति मौन बसेर विरोध जनाउनुभयो। सांसद जगत्प्रसाद जोशीले पनि गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

सांसद जनकराज गिरीले संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्नुभयो ।

सांसद जनकसिंह धामीले बेलौरी भन्सारको व्यवस्थापन प्रभावकारी बनाउन सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो। सांसद झविलाल डुम्रेले स्याङ्जाका अधिकांश क्षेत्रमा विद्युत् सेवा नियमित हुन नसकेको भन्दै त्यसको समाधान गर्न आग्रह गर्नुभयो ।

सांसद टुकाभद्र हमालले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

सांसद तारा विश्वकर्माले गोदावरी नगरपालिकाको पाचाखर्च क्षेत्रमा रहेका करिब १५० घरपरिवार लामो समयदेखि रोजगारीका लागि घर छोड्न बाध्य भएको अवस्थाप्रति दुःख व्यक्त गर्नुभयो ।

सांसद धनबहादुर बुढाले डोल्पामा विद्युत् तथा फोरजी सेवाजस्ता आधारभूत सुविधा विस्तारका लागि सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। सांसद धर्मराज केसीले लमजुङका ग्रामीण सडक निर्माणलाई प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद ध्रुवराज राईले कर्णालीका गरिब नागरिक गणेश नेपालीको घटनाले जरिवाना तिराउने परिपाटीप्रति राज्य संवेदनशील हुनुपर्ने सन्देश दिएको बताउनुभयो ।

सांसद निश्कल राईले इलामकी मञ्जु तामाङको मलेसियामा भएको मृत्युको घटनाबारे परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरी छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

सांसद मीनुकुमारी कर्णले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शिक्षा, स्वास्थ्य र विद्युत्मा लगाइएको करका कारण सर्वसाधारण नागरिक थप मारमा परेको धारणा राख्नुभयो ।

सांसद पवित्रा विकले सरकारले गरिब तथा विपन्न नागरिकका समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद प्रकाशचन्द्र परियारले गणेश नेपालीको निधनले संसद् नै मर्माहत भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

सांसद परशुराम तामाङले भोजपुरका नागरिकले सडक निर्माणको माग गरिरहेकाले सम्बन्धित निकायले त्यसतर्फ शीघ्र पहल गर्नुपर्ने बताउनुभयो ।

सांसद पुष्पाकुमारी चौधरीले नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०र०८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको जानकारी दिँदै आर्थिक अभाव पनि त्यसको एक प्रमुख कारण हुन सक्ने उल्लेख गर्नुभयो। उहाँले गरिब तथा विपन्न नागरिकको भरणपोषणमा राज्यले थप सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here