प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले धान रोपाइँको मुख्य समयमा रासायनिक मलको अभावले किसान समस्यामा परेको उल्लेख गर्दै यसको तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। विगतका वर्षझैँ यस वर्ष पनि मल अभाव दोहोरिएकाले कृषकलाई सहज रूपमा मल उपलब्ध गराउनुपर्ने उनीहरूको भनाइ थियो।
सांसद शम्भुप्रसाद ढकालले सरकारी कार्यालयबाट जनअपेक्षाअनुसार सेवा प्रवाह हुन नसक्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद ललिता कुमारीले शुद्ध शाकाहारी तथा धार्मिक पर्यटकलाई लक्षित गरी उपयुक्त खानपान र आवासको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।
सांसद लालविक्रम थापाले आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेकोमा सरकारलाई धन्यवाद दिँदै २५ वर्षदेखि अधुरो रहेको इनरुवादेखि कप्तानगन्जसम्मको सडक निर्माणले गति लिएको जानकारी दिनुभयो।
सांसद लीमा अधिकारीले नेपाली वायुसेवा कम्पनीमाथि लागेको प्रतिबन्ध हटाउन कूटनीतिक पहल तीव्र बनाउन सरकारसँग अनुरोध गर्नुभयो।
सांसद लेखजङ्ग थापाले लुम्बिनी प्रदेशस्थित भीम अस्पतालमा पर्याप्त जनशक्ति र आइसियु सेवाको अभावका कारण सर्वसाधारणले उपचार नपाइरहेको उल्लेख गर्दै आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न माग गर्नुभयो।
सांसद विक्रम थापाले भारतसँगको सहकार्यमा कपिलवस्तुको बाणगङ्गा नदीमा तटबन्ध निर्माण गर्ने भनिए पनि प्रगति हुन नसकेको भन्दै बाढी जोखिम न्यूनीकरणका लागि निर्माण कार्य शीघ्र अघि बढाउन आग्रह गर्नुभयो।
सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएका सुकुमवासीलाई २५ हजार रुपैयाँ दिएर घर फर्काउने प्रयास न्यायोचित नभएको धारणा राख्नुभयो।
सांसद शिवशङ्कर यादवले मधेस क्षेत्रमा लोडसेडिङको समस्या गम्भीर रहेको उल्लेख गर्दै सिरहाका २८ स्थानमा आवश्यक ट्रान्सफर्मर जडान गरी जनतालाई राहत दिन सरकारसँग माग गर्नुभयो।
सांसद शोभा खनालले कृषिप्रधान देशमा खेती गर्ने मौसममै रासायनिक मल अभाव हुनु चिन्ताजनक रहेको बताउँदै यसको स्थायी समाधान आवश्यक रहेको धारणा राख्नुभयो।
सांसद श्रद्धाकुँवर क्षेत्रीले विद्युत् आपूर्तिमा देखिएको समस्या र बढ्दो महँगीले नागरिकको दैनिकी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद श्रीधर पोखरेलले बर्दियाका उखु किसानले उत्पादन लागतअनुसार मूल्य नपाएको विषय उठाउँदै सरकारबाट आवश्यक पहल हुनुपर्ने बताउनुभयो।
सांसद श्रीराम न्यौपानेले जलस्रोत र ऊर्जा क्षेत्रबाट अपेक्षित लाभ लिन नसक्दा मुलुक अझै रेमिट्यान्समा निर्भर रहनुपरेको गुनासो गर्नुभयो।
सांसद सन्तोषराज वंशीले खाद्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित रासायनिक मलको पर्याप्त व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो।
सांसद सन्दीप रानाले पाल्पा जिल्ला अस्पतालसहित देशभर नै एन्टिरेबिज खोपको अभाव रहेको भन्दै यसको आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद समिना मियाँले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको अवस्थामा प्रभावकारी समन्वयमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
सांसद समीक्षा बाँस्कोटाले सबै कानुन, नीति तथा निर्देशिका समेटिएको डिजिटल पोर्टल सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो।
सांसद सरस्वती लामाले नेपालको बाटो हुँदै कैलाश मानसरोवर जान आएका भारतीय पर्यटकले चिनियाँ भिसा नपाउँदा नेपालमै अलपत्र पर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो।
सांसद सरिता महतोले बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकले आवश्यक कागजात पाँच वर्षपछि मात्रै प्राप्त गर्ने व्यवस्था संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
सांसद सागर भुसालले पर्वत जिल्लाका दर्जनौँ सडक वर्षौंदेखि अधुरै रहँदा वर्षायाममा आवतजावतमा गम्भीर समस्या भएको भन्दै निर्माण कार्य सम्पन्न गर्न सरकारसँग माग गर्नुभयो।
सांसद सजिता खातुन सिद्धिकीले गरिब तथा विपन्न समुदायमाथि हुने अन्याय र अत्याचार अन्त्य गर्न प्रभावकारी कदम चाल्न सरकारसँग अनुरोध गर्नुभयो।
सांसद सीताराम साहले सिरहा र सप्तरीका धेरै क्षेत्रमा अझै पनि सिँचाइ सुविधा नपुगेको उल्लेख गर्दै त्यसको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद सिर्जना श्रेष्ठले रोजगारीको अभावका कारण नेपाली युवा शैक्षिक प्रमाणपत्र बोकेर विदेशिन बाध्य भइरहेको भन्दै त्यसलाई रोक्न प्रभावकारी नीति र कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो।
शून्य समयमा सुम्निमा उदास, सुशीलकुमार कानुलगायत अन्य सांसदहरूले पनि रासायनिक मल अभावसहित विभिन्न समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।




