आमसञ्चारमाध्यमले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रूपमा निर्वाह गर्न समावेशी मुद्दालाई समाचार र सम्पादकीय प्राथमिकतामा राख्नुपर्नेमा अधिकारकर्मी तथा सञ्चारकर्मीले जोड दिएका छन्।
सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा एकता फाउण्डेशनले आज आयोजना गरेको ‘समावेशी पत्रकारिताः सीप, क्षमता र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले समावेशी पत्रकारिताले लोकतान्त्रिक समाजलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले समावेशी पत्रकारिता भनेको केवल विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु मात्र नभई सम्पादकीय नीतिमै समानता र समावेशिताको दृष्टिकोण स्थापित गर्नु पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले पछिल्लो समय पत्रकारिताको सामाजिक उत्तरदायित्व कमजोर बन्दै गएको उल्लेख गर्दै दलित, महिला, जनजाति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत सिमान्तकृत समुदायका आवाजलाई मुख्यधारको सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँका अनुसार सञ्चारमाध्यम समाज परिवर्तनको प्रभावकारी माध्यम भएकाले आवाजविहीन समुदायको आवाज बन्नु नै पत्रकारिताको मूल दायित्व हो।
त्यसैगरी, लेखक तथा अधिकारकर्मी जेबी विश्वकर्माले समावेशी पत्रकारिताको आवश्यकता र यसको महत्वबारे कार्यपत्र प्रस्तुत गर्दै समाजका पछाडि पारिएका समुदायका मुद्दा उठाउँदा परम्परागत प्रस्तुति शैलीभन्दा प्रभावकारी, सिर्जनात्मक र परिणाममुखी अभ्यास आवश्यक रहेको बताउनुभयो।
एकता फाउण्डेशनका अध्यक्ष रामहरि शाही समुन्द्रीले समावेशी मुद्दा कुनै एक समुदायमा सीमित नभई समग्र समाज र सभ्य राष्ट्र निर्माणसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो। उहाँले समाज रूपान्तरणलाई केन्द्रमा राखेर सञ्चारमाध्यमले समावेशी विषयवस्तुको समाचार सम्प्रेषणलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।




