लमजुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको जिल्ला अधिवेशन आगामी शनिबार र आइतबार हुने भएको छ। पालिका तहका अधिवेशनहरू सम्पन्न भएसँगै जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टी स्रोतले जनाएको छ।
अधिवेशन नजिकिँदै जाँदा जिल्ला नेतृत्व चयनको विषयले पार्टीभित्र चर्चा पाउन थालेको छ। जिल्ला अध्यक्ष पदका लागि नवराज पहाडी ले आफ्नो आकांक्षा सार्वजनिक गरिसकेका छन्। तर, पार्टीभित्रका अधिकांश प्रतिनिधि र कार्यकर्ताहरूले नेतृत्वमा नयाँ अनुहारको खोजी भइरहेको बताइरहेका छन्।
गत निर्वाचनमा पार्टीको संगठन निर्माण, चुनावी अभियान सञ्चालन तथा कार्यकर्ता परिचालनमा महत्वपूर्ण भूमिका खेलेका भोला शर्मा लाई अध्यक्ष पदमा उम्मेदवारी दिनुपर्ने सुझाव प्रतिनिधिहरूबाट आएको स्रोतको दाबी छ। जिल्लामा पार्टी विस्तार र संगठन सुदृढीकरणमा शर्माको योगदान उल्लेखनीय रहेको भन्दै उनलाई नेतृत्वमा आउन आग्रह भइरहेको बताइएको छ।
यद्यपि, अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्ने वा नगर्ने विषयमा शर्माले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। अधिवेशनअघि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भए पनि आवश्यकता परे निर्वाचनमार्फत नेतृत्व चयन हुन सक्ने जनाइएको छ।
रास्वपा लमजुङको जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठन विस्तार, आगामी राजनीतिक रणनीति तथा जिल्लामा पार्टीको भूमिका थप प्रभावकारी बनाउने विषयमा समेत महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।




