नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले परम्परागत घोषणापत्रको सट्टा स्पष्ट कार्ययोजना समेटिएको ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने बताएका छन्। सिरहा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभाद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले कांग्रेसले भाषणभन्दा परिणामलाई प्राथमिकता दिने दृष्टिकोण अघि सारे।
सभापति थापाका अनुसार फागुन २१ गते निर्वाचन सम्पन्न हुनेछ र चैत महिनामा सरकार गठन हुने अपेक्षा गरिएको छ। त्यसपछि वैशाख १ गते प्रधानमन्त्रीले प्रतिज्ञापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षभित्र सम्पन्न गरिने कामप्रति स्पष्ट प्रतिबद्धता व्यक्त गर्नेछन्। उनले भने, अब भाषण गरेर होइन, काम गरेर देखाइन्छ ।
उनका अनुसार वैशाख महिनाभर तयार गरिएका योजनाको मूल्यांकन जेठ १ गते गरिनेछ र त्यसपछि प्रत्येक महिनाको पहिलो दिन सरकारको कामको समीक्षा गर्ने व्यवस्था लागू गरिनेछ। यो मूल्यांकन प्रक्रियामा नागरिकलाई समेत सहभागी गराइने उनले बताए।
सभापति थापाले यस्तो कार्यमुखी सरकार निर्माण गर्न सम्भव रहेको उल्लेख गर्दै त्यसका लागि उत्साह, अनुभव, जोश, विवेक र व्यवस्थापन क्षमता आवश्यक पर्ने बताए। समय पनि छ, अवसर पनि छ,उनले भने।
उनले केवल नाराबाजी, उखान–टुक्का र भत्काउने राजनीति पर्याप्त नहुने उल्लेख गर्दै सबैलाई समेटेर अघि बढाउने नेतृत्व क्षमता आवश्यक रहेको धारणा राखे। यस्तो क्षमता नेपाली कांग्रेस र आफूमा रहेको दाबीसमेत उनले गरे।




