२५ माघ, मुम्बई। नेपालले आईसीसी टी२० विश्वकपमा आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको साँघुरो हार झेलेको छ। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि नेपाललाई जित दिलाउन सकिएन।
नेपालको पारीको सुरु राम्रो भएको थियो, जहाँ कुशल भुर्तेल र आसिफ शेखले साझेदारी गर्दै प्रारम्भिक संघर्षलाई साहसपूर्ण बनाएका थिए। चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले छिट्टै कुशल भुर्तेललाई पनि गुमायो। भुर्तेलले १७ बलमा ४ चौका र १ छक्का मार्फत २९ रन जोडेका थिए। यसरी दुवै ओपनर आउट हुँदा नेपालको स्थिति ४२-२ बन्यो।
पछिल्लो समयमा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट साझेदारी गरेका थिए। यो जोडीले तेस्रो विकेटको लागि ८२ रनको साझेदारी गरे, जसले इंग्ल्यान्डलाई दबावमा पारिदिएको थियो। तर, १५औं ओभरमा दीपेन्द्र सिंह ऐरी साम करनको बलमा आउट भएपछि नेपालले तेस्रो विकेट गुमायो। दीपेन्द्र सिंह ऐरीले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए। यसैसँग उनले टी२०आईमा १ हजार रनको माइलस्टोन पूरा गरे।
त्यसपछि कप्तान रोहित पौडेल पनि ३९ रनमा आउट भए। ३४ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे। आरिफ शेखले ८ बलमा १० रन बनाए।
बलिङमा इंग्ल्यान्डका लागि लियम डसनले २ विकेट लिएका थिए।
अघिल्लो पारीमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो र नेपाललाई १८५ रनको लक्ष्य दिएको थियो। इंग्ल्यान्डको लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन जोडे। विल ज्याक्सले १८ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै अविजित ३९ रन बनाए।
नेपालका बलरहरू भने एकजुट भएर प्रतिस्पर्धा गरिरहेका थिए। शेर मल्लले इंग्ल्यान्डका ओपनर फिल साल्टलाई आफ्नो पहिलो बलमै आउट गर्दै पहिलो विकेट लिन सफल भए। ५७(३ को अवस्थामा रहेका इंग्ल्यान्डका बेथेल र कप्तान ब्रूकले चौथो विकेटको लागि ७१ रनको साझेदारी गरे, जसले इंग्ल्यान्डको पारीलाई बलियो बनाएको थियो।
नेपालको बलिङमा दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २(२ विकेट लिए। डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १-१ विकेट लिएका थिए।
नेपालको कडा संघर्षले इंग्ल्यान्डलाई खेलमा दबावमा राखे पनि अन्तत: १८० रनमा सीमित भएको नेपालको पारीले ४ रनको हार स्वीकार्नु परेको छ।




