काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जनाएको छ। यसका कारण आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी स्थानमा आंशिक बदली देखिएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। तराई क्षेत्रका केही भागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।
कोशी र मधेस प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।
आज राति पनि अधिकांश पहाडी र हिमाली भूभागमा बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।




