काठमाडौं — नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरका कारण देशका अधिकांश भागमा आंशिकदेखि साधारण बदली रहने अवस्था देखिएको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रहरूमा साधारण बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदली रहने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा साधारण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसमविद्हरूले चट्याङ र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।




