काठमाडौं — यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुर ले आगामी छ महिनाभित्र एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने लक्ष्य लिएको छ।
कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सम्पूर्ण तथा २०२५ का केही सवारी अनुमति पत्र वितरण सुरु गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी जीवन बस्नेत का अनुसार बिहीबारसम्म करिब तीन हजार लाइसेन्स वितरण भइसकेका छन् भने अझै एक लाखभन्दा बढी लाइसेन्स छपाइ भएर आउन बाँकी छ।
उनका अनुसार हाल दैनिक आठ जना कर्मचारी बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खटिँदा पनि एक हजारभन्दा बढी लाइसेन्स वितरण गर्न सम्भव छैन। “यसै गतिमा काम भए सबै लाइसेन्स वितरण गर्न करिब छ महिना समय लाग्छ,” बस्नेतले बताए।
लाइसेन्स वितरण सुरु भएसँगै चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीहरूको भीड कार्यालयमा बढेको छ। बिहान ७ बजेदेखि नै सेवाग्राहीहरूको लाइन लाग्न थालेपछि कार्यालयले समयमै सेवा दिन विशेष व्यवस्था मिलाएको जनाएको छ।
कार्यालयले सेवाग्राहीलाई अनावश्यक भीड नगर्न आग्रह गर्दै लाइसेन्सको बिल तथा मोबाइल एप्समार्फत पनि सवारी अनुमति पत्र देखाउन सकिने जानकारी दिएको छ। यसअघि नवीकरणका लागि आवेदन दिएका तथा लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीहरूले रसिदका आधारमा नै सवारी साधन सञ्चालन गर्दै आएका थिए।
कार्यालयले वितरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउँदै सेवाग्राहीलाई सहज सेवा दिने प्रतिबद्धता जनाएको छ।




