काठमाडौं — देशमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना देखिएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च भेगका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैबीच, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र तातो दिनको अनुभव हुने महाशाखाले जनाएको छ।
आज राति भने देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित अन्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायम रहने बताइएको छ।
मौसमविद्हरूले सम्भावित चट्याङ्ग र वर्षाबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।




