हास्य कलाकार मनोज गजुरेलले ‘कमेडी दरबार’को तेस्रो सिजन घोषणा कार्यक्रममा प्रयोग गरिएको पोशाकका कारण उत्पन्न विवादबारे सार्वजनिक रूपमा माफी मागेका छन्।
उक्त कार्यक्रममा उनले पूर्वराजाको झल्को दिने शैलीको पोशाक लगाएका थिए। तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना बढ्दै गएको थियो र विभिन्न समूहबाट प्रतिक्रिया आएको थियो।
विवाद चर्किएपछि गजुरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त प्रस्तुति कसैको भावना आहत पार्ने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। उनले सो पोशाक कार्यक्रमको कथ्यअनुसार सिर्जना गरिएको काल्पनिक पात्रको अंश मात्र भएको बताएका छन्।
उनले सार्वजनिक संवेदनशीलतालाई पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गर्दै यसप्रति क्षमा याचना गरेका छन्। साथै, भविष्यमा सांस्कृतिक गरिमा, ऐतिहासिक विषय र राष्ट्रिय पहिचानसँग सम्बन्धित प्रस्तुति गर्दा अझ जिम्मेवार र सचेत रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
गजुरेलले आफ्ना कमजोरी औंल्याउने र सचेत गराउने सबैप्रति धन्यवाद दिँदै आफ्नो उद्देश्य समाजलाई जोड्ने र समावेशी मनोरञ्जन प्रस्तुत गर्ने रहेको बताएका छन्।




