काठमाडौं — देशमा पश्चिमी वायु र स्थानीय वायूको प्रभावका कारण मौसममा आंशिक बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली भेगमा सामान्य बदली रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बादल लागेको अवस्था छ। तराईका अधिकांश जिल्लामा भने मौसम सामान्यतया सफा रहेको जनाइएको छ।
महाशाखाले दिएको जानकारी अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ। साथै, ती क्षेत्रहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना पनि रहेको छ।
बिहीबारको मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने देखिएको छ।
महाशाखाले कोशी प्रदेशका पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुने अनुमान गरेको छ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि हल्का हिमपात हुन सक्ने जनाएको छ।
समग्रमा, तराई क्षेत्रमा मौसम स्थिर र सफा रहने भए पनि पहाडी तथा हिमाली क्षेत्रमा भने बदलीसँगै हल्का वर्षा र हिमपातको क्रम केही समय जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।




