ट्राफिकसँग रहेका झण्डै ९ हजार सक्कली कागजपत्र लिन कोही आएनन्
चितवन, २ बैशाख २०८३ – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आफ्नो नियन्त्रणमा रहेका हजारौँ सवारी सम्बन्धी सक्कली कागजपत्र लिन सर्वसाधारणलाई आग्रह गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने क्रममा जाँचबाट संकलन गरिएका ती कागजपत्र लामो समयसम्म पनि सम्बन्धित धनी तथा चालकले फिर्ता लिन नआएको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार हाल कार्यालयमा जम्मा आठ हजार ९८२ वटा कागजपत्र थन्किएका छन्। विसं २०८० देखि ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ लागू भएसँगै ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारी चालकहरूका कागजात नियन्त्रणमा लिन थालेपछि यस्तो अवस्था आएको हो।
जाँचका क्रममा चौबीस घण्टे पूर्जी प्राप्त गरेका तर तोकिएको समयभित्र जरिवाना नतिर्ने सवारी चालक तथा सवारी धनीका कागजपत्र कार्यालयमा राखिएको छ। तीमध्ये सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुक तथा मार्ग अनुमति जस्ता महत्वपूर्ण कागजात रहेका छन्।
ट्राफिक कार्यालयले सम्बन्धित व्यक्तिहरूलाई सूचना जारी गर्दै १० दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नो कागजपत्र फिर्ता लिन आग्रह गरेको छ। यदि निर्धारित समयभित्र कागजात लिन नआएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ। उक्त ऐनको दफा १६४ को उपदफा ५ अनुसार एक महिनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन हुन सक्ने व्यवस्था छ।
यसैबीच, केही कागजपत्र आगलागी लगायतका घटनामा नष्ट भएको भए पनि त्यस्ता कागजात पुनः प्राप्तिका लागि सिफारिस गर्न सकिने कार्यालयले जनाएको छ। त्यसका लागि सम्बन्धित व्यक्तिले राजस्व तिरेर आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमै मात्रै दुई हजार २४८ वटा कागजपत्र नियन्त्रणमा लिइएको थियो, जसमध्ये धेरैजसो लिन कोही नआएको अवस्था रहेको छ। ट्राफिक प्रहरीले समयमै कागजात लिन र नियम पालना गर्न सर्वसाधारणसँग पुनः आग्रह गरेको छ।




