सार्वजनिक यातायातको भाडा बढाउने निर्णय सरकारले गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा समायोजनका लागि सैद्धान्तिक सहमति दिएपछि नयाँ भाडा दर लागू गरिएको छ ।
मध्यपूर्वी युद्धका कारण इन्धनको मूल्य बढ्दै गएपछि यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए। सोही मागलाई आधार मान्दै मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले नयाँ भाडादर प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गरेको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले उक्त प्रस्तावलाई अनुमोदन गरेपछि भाडा वृद्धि कार्यान्वयनमा आएको हो। विभागका अनुसार यात्रुबाहक सवारी साधनमा १६।७१ प्रतिशतसम्म भाडा बढाइएको छ भने मालबाहक सवारीतर्फ पहाडी क्षेत्रमा २१।६८ प्रतिशत र तराइ क्षेत्रमा १५।७५ प्रतिशतसम्म वृद्धि गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सरकारले तीनवटा वर्गमा विभाजन गरेर भाडा वृद्धि गरेको हो। उनले इन्धनको मूल्यवृद्धिका कारण व्यवसायीहरू लगातार भाडा समायोजनको मागमा रहेको र सोहीअनुसार सरकारले निर्णय लिएको बताए।




