काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्। मनोनयन दर्ताको अन्तिम समयसम्म अर्यालको एकल उम्मेदवारी परेपछि उनी स्वतः निर्वाचित भएका हुन्।
नेपालको संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गका हुनुपर्ने प्रावधान रहेको छ। यससँगै अब उपसभामुख पदमा विपक्षी दलबाट एक महिलालाई चयन गर्नुपर्ने अवस्था बनेको छ। यद्यपि, असाधारण परिस्थितिमा एउटै दलबाट पनि दुवै पदमा प्रतिनिधित्व सम्भव भए पनि हालको अवस्थामा त्यो सम्भावना न्यून देखिन्छ।
हाल प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेको छ। रास्वपाका १८२ सिट रहेका छन् भने नेपाली कांग्रेस का ३८, नेकपा एमाले का २५, नेपाली कम्युनिष्ट पार्टी का १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी का ५ सिट छन्।
रास्वपाको झण्डै दुईतिहाइ बहुमतका कारण उसले समर्थन गर्ने उम्मेदवार सहजै उपसभामुख निर्वाचित हुने देखिन्छ। त्यसैले अब उपसभामुखमा कसलाई समर्थन गरिन्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।
सभामुखमा उम्मेदवारी दिने चर्चा भए पनि एमालेका तर्फबाट अन्तिम समयमा कसैले पनि उम्मेदवारी दर्ता गराएनन्। यता, पुष्पकमल दाहाल नेतृत्वको नेकपा भने उपसभामुख पदका लागि इच्छुक देखिएको छ र यसका लागि रास्वपासँग समर्थन खोजिरहेको बताइएको छ।




