काठमाडौं – जापानमा नेपाली पाठ्यक्रमअनुसार अध्ययन गर्दै आएका विद्यार्थीहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागिता जनाएका छन्। एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका कुल २३ जना विद्यार्थीले बिहीबारबाट सुरु भएको परीक्षामा भाग लिएका हुन्।
विद्यालय प्रशासनका अनुसार सहभागीमध्ये ९ जना छात्र र १४ जना छात्रा रहेका छन्। यो विद्यालयको छैटौँ ब्याच हो, जसले एसईई परीक्षा दिइरहेको छ। सन् २०२१ देखि विद्यालयले नियमित रूपमा आफ्ना विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराउँदै आएको छ।
एभरेष्ट इन्टरनेशनल स्कुल, जापान, नेपाल सरकारबाट मान्यता प्राप्त विदेशस्थित एक मात्र नेपाली सरकारी उच्च माध्यमिक विद्यालय हो। यहाँ कक्षा १२ सम्म नेपाली पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन हुँदै आएको छ।
विद्यालयले नेपाली पाठ्यक्रमसँगै जापानको शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डलाई समेत ध्यानमा राखेर आफ्ना शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ।




