काठमाडौं – प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन गरिएको छ। शुक्रबार आयोजित विशेष समारोहमा प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
नयाँ मन्त्रिमण्डलमा प्रधानमन्त्री बालेन शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नै जिम्मेवारीमा राखेका छन्। अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल तथा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्रीमा सुनिल लम्साल नियुक्त भएका छन्।
त्यसैगरी ऊर्जा मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिइएको छ भने पर्यटन मन्त्रालय खड्गराज (गनेस) पौडेलले सम्हाल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेलको जिम्मेवारीमा परेको छ।
स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रालयको जिम्मेवारी निशा मेहताले पाएकी छन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विक्रम तिमिल्सिनालाई दिइएको छ। सामान्य प्रशासन तथा भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल नियुक्त भएकी छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोबिता गौतम, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा गीता चौधरी, श्रम तथा रोजगार मन्त्रीमा दीपक शाह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिता बादी नियुक्त भएका छन्।
नयाँ मन्त्रिमण्डलले देशको राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राख्दै काम गर्ने अपेक्षा गरिएको छ।




