काठमाडौं — सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा ल्याइएको रु २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विनय शंकर साह तुरहा रहेका छन्। उनलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार प्रवेशद्वारमा नियमित जाँचका क्रममा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। उनी भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार थिए।
सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारीका अनुसार जाँचका क्रममा मोटरसाइकलको सिटकभरभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम फेला परेको हो।
बरामद गरिएको रकमसहित पक्राउ परेका तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। उनीसँग ‘वीरगञ्ज भन्सार एजेन्ट सङ्घ, पर्सा’ उल्लेख भएको परिचयपत्र समेत बरामद भएको प्रहरीले जनाएको छ।
यस घटनाबारे थप अनुसन्धान जारी रहेको छ।




