नेपाल सरकारले कुवेत र कतारमा रहेका नेपालीलाई साउदी अरब हुँदै स्वदेश फर्काउने वैकल्पिक व्यवस्था अघि सारेको छ। कुवेत र कतारबाट सडक मार्ग प्रयोग गरी साउदी पुग्ने र त्यहाँबाट हवाई उडानमार्फत नेपाल फर्किने विकल्प प्रस्तुत गरिएको हो।
विशेषगरी कुवेत र कतारमा समस्यामा परेका नेपालीको उद्धारका लागि यो उपाय अपनाइएको बताइएको छ। पश्चिम एसियामा इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वले उत्पन्न अस्थिरताका कारण मध्यपूर्वमा रहेका नेपालीहरू त्रसित अवस्थामा रहेका छन्।
कुवेत र कतारस्थित नेपाली दूतावासहरूले साउदीको पर्यटक भिसा प्रयोग गरेर नेपाल फर्किन सकिने व्यवस्था मिलाइएको जनाएका छन्। यसका लागि अनलाइनमार्फत साउदी भिसा आवेदन दिन आह्वान गरिएको छ। कुवेतस्थित दूतावासका अनुसार त्यहाँको रेसिडेन्सी वा सिभिल आईडी भएका नेपालीहरूले सडक मार्गबाट साउदी प्रवेश गर्न सक्नेछन् र त्यसपछि हवाई मार्ग प्रयोग गरी नेपाल फर्कन सक्नेछन्।
भिसा प्रक्रियालाई सहज बनाउन दूतावासले सहजीकरण गर्ने बताएको छ। भिसा प्राप्त भएपछि साउदी प्रवेश गरी त्यहाँका विमानस्थलबाट नेपाल उडान भर्न सकिने व्यवस्था गरिएको जानकारी दिइएको छ।
त्यसैगरी कतारस्थित नेपाली दूतावासले पनि यस्तै सूचना जारी गर्दै कतारबाट सडक मार्ग हुँदै साउदी पुगेर त्यहाँबाट नेपाल फर्कन सकिने जनाएको छ। दोहामा रहेको साउदी भिसा केन्द्रमार्फत अपोइन्टमेन्ट लिएर पर्यटक भिसा आवेदन दिन र शुल्क सोही केन्द्रमा बुझाउन भनिएको छ।
तर, यो व्यवस्थाप्रति कुवेत र कतारमा रहेका नेपालीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले सरकारले प्रत्यक्ष उद्धारको व्यवस्था गर्नुपर्नेमा उल्टै महँगो प्रक्रिया अपनाएर आर्थिक भार थपेको आरोप लगाएका छन्।
कुवेतमा कार्यरत नेपालीहरूले दूतावासले वास्तविक अवस्था नबुझी जिम्मेवारीबाट पन्छिएको बताएका छन्। दूतावासको सूचनाअनुसार कुवेतबाट नेपाल फर्किन करिब ४ सय कुवेती दिनार खर्च लाग्ने देखिएको छ, जुन हालको कठिन परिस्थितिमा धेरैका लागि सम्भव नभएको उनीहरूको भनाइ छ।




