काठमाडौं — शिखर पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड हुने भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले आज चैत ३ गते बिहान साढे ८ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३२ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट पुस १६ गते अनुमति पाएको थियो। अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा माघ ६ गतेदेखि ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो भने माघ २० गतेसम्म आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ।
त्यसपछि दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको सेयरसहित सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १८ लाख ४२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ। बाँडफाँड प्रक्रियाअनुसार १ लाख ८४ हजार २६० जना आवेदकले १०/१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् भने बाँकी आवेदकको हात खाली रहनेछ।
आईपीओ बाँडफाँडपछि नतिजा बिक्री प्रबन्धकको वेबसाइट तथा सम्बन्धित अनलाइन प्रणालीमार्फत हेर्न सकिने जनाइएको छ।




