काठमाडौं – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले उपचारका लागि उठाइएको आर्थिक सहयोग रोक्न आग्रह गरेकी छिन्। २४ घण्टामै उपचारका लागि आवश्यकभन्दा बढी रकम संकलन भएपछि उनले समर्थकहरूलाई धन्यवाद दिँदै अब सहयोग नगर्न अनुरोध गरेकी हुन्।
साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोग अपिल गरेकी थिइन्। अपिल गरेको एकै दिनभित्र नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा करिब ४५ लाख रुपैयाँ (झण्डै ५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको उनले जानकारी दिइन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ। पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन।” आर्थिक रूपमा उपचार खर्च जुटाइदिनुका साथै पाएको नैतिक साथले आफूलाई अझ बलियो बनाएको उनले उल्लेख गरेकी छिन्।
साम्बाका अनुसार संकलित रकमले उपचार खर्च मात्र नभई कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात खर्च समेत धान्ने देखिएको छ। विभिन्न संघ–संस्था तथा व्यक्तित्वहरूले समेत नगद तथा सुविधा सहयोगको प्रतिबद्धता जनाएका छन्।
उनी आवद्ध क्लब Wellington Phoenix FC ले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको जनाएको छ। छिट्टै शल्यक्रियाको मिति तय हुने विश्वास व्यक्त गर्दै उनले पुनरागमनको प्रतिबद्धता दोहोर्याएकी छन्।
“म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु। अझ मजबुत भएर फर्कनेछु। पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु,” उनले लेखेकी छन्।
चोटका कारण शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकित बनेको बताउँदै साम्बाले समर्थकहरूको साथले आफूलाई फेरि उठ्ने साहस दिएको उल्लेख गरेकी छन्।
उनले अन्त्यमा लेखेकी छन्, “मेरो तर्फबाट ‘धन्यवाद’ मात्र पर्याप्त हुँदैन। तपाईंहरूको माया र समर्थनको साँचो धन्यवाद मेरो पुनरागमन हुनेछ। चाँडै मैदानमा भेटौंला।”




