
काठमाडौँ – साताको दोस्रो कारोबार दिन शेयर बजारमा सामान्य सुधार आएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार भने सामान्य अंकले बढेर बन्द भएको हो।
मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.०० अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेका छन्।

परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो कारोबार दिन (सोमबार) ३ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन कारोबार रकम खुम्चिएको हो। मंगलबार ३५९ वटा स्टकको ४१ हजार ६०७ पटकको कारोबारमा ८९ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री हुँदै कुल ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.११ प्रतिशतले बढेको छ। मूल्य बढेका अन्य कम्पनीहरूको वृद्धिदर भने ४ प्रतिशतभन्दा कमै सीमित रह्यो।
यता घट्ने स्टकहरूको गिरावट दर पनि ५ प्रतिशतभन्दा कमै छ। सर्वोत्तम पेन्ट्सको शेयरमूल्य करिब ५ प्रतिशतले घट्दा एआईबिएल ग्रोथ फण्डको इकाई मूल्य करिब साढे ४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
यस्तै, लिबर्टी इनर्जीको करिब १४ करोड रुपैयाँको शेयर कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढेको छ भने दुई वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ।
सबैभन्दा बढी जीवन बीमा उपसमूहको परिसूचक ४१.१० अंकले बढेको छ। उता लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।






Leave a Reply