
काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ। बिहीबार करिब स्थिर रहेको सेयर बजारमा शुक्रबार भने बिक्री चाप बढ्दा नेप्से परिसूचक ११.९० अङ्कले घटेर २५८७.२५ विन्दुमा झरेको छ।

यस दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.७४ अङ्क, फ्लोट इण्डेक्स ०.८१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अङ्कले ओरालो लागेका छन्। बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आई कुल ३५६ कम्पनीको ४३ हजार ६८५ पटकको कारोबारमा १ करोड १९ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम रु. ४ अर्ब २९ करोड ३७ लाख ७४ हजारमा सीमित भएको छ।
घट्दो बजारका बीच पनि ऋणपत्रतर्फ लगानीकर्ताको विशेष आकर्षण देखिएको छ, जहाँ एनएमबि डिबेञ्चर १०.७५% (२०८९/९०) को मूल्य सर्वाधिक १४.२९ प्रतिशत, १०.७५% एसबिएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत र माण्डु हाइड्रोपावरको सेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ। अर्कोतर्फ सिन्धु विकास बैंकका सेयरधनीले सर्वाधिक ८.५५ प्रतिशत मूल्य गुमाएका छन्। कारोबार रकमका आधारमा पनि रु. २६ करोड ५३ लाख बराबरको सेयर किनबेच भई १०.७५% एसबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रह्यो भने रिलायन्स स्पिनिङ्ग मिल्सको रु. साढे १५ करोड र आँखु खोला जलविद्युतको करिब रु. १५ करोडको सेयर कारोबार भयो। १३ उपसमूहमध्ये म्युचुअल फण्ड र व्यापार उपसमूहबाहेक बाँकी ११ उपसमूह राताम्मे रहे, जसमा उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक ०.७३ प्रतिशतले घट्न पुग्यो।






Leave a Reply