
काठमाडौं – सेयर बजारमा आज कारोबार हुने सेयरमध्ये चार कम्पनीका सेयरधनीका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरका सेयरधनीले घोषित लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।
यी कम्पनीहरूले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी असोज १९ गते बुक क्लोज गर्दैछन्। त्यसैले असोज १६ गतेसम्म सेयर कारोबार भई कायम भएका सेयरधनीले लाभांश प्राप्त गर्नुका साथै सम्बन्धित कम्पनीको साधारणसभामा सहभागी हुन पाउनेछन्।
कुमारी बैंकले कर प्रयोजनका लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभा असोज २८ गते काठमाडौंमा आयोजना हुँदैछ।
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेश्नलले ३.८ प्रतिशत बोनस सेयर र ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभा पनि असोज २८ गते काठमाडौंमा हुँदैछ।
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा असोज २९ गते हुनेछ।
सानिमा मिडिल तमोर हाइड्रोपावरले भने ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा असोज ३० गते आयोजना हुँदैछ।
बुक क्लोजपछि सेयर खरिद गर्ने लगानीकर्ता भने यी कम्पनीले घोषणा गरेको लाभांशका लागि योग्य हुने छैनन्। त्यसैले घोषित लाभांश सुरक्षित गर्न चाहने लगानीकर्ताका लागि आजको कारोबार अन्तिम अवसर रहेको छ।






Leave a Reply