
काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधार, प्राविधिक सुदृढीकरण तथा संस्थागत क्षमता अभिवृद्धिको प्रक्रिया अघि बढाउने भएको छ।
अर्थ मन्त्रालयको निर्देशनअनुसार अघिल्लो सरकारको पालामा रामेश्वर खनाल नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजान सेबोनले तयारी थालेको हो। सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै नेप्सेको कार्यक्षमता, सुशासन र संस्थागत क्षमता सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
उनका अनुसार आगामी सातादेखि नेप्से सञ्चालक समितिसँग छलफल गरी पुनर्संरचनाको प्रक्रिया अघि बढाइनेछ। नेप्सेको स्वामित्व तथा समग्र संरचनामा परिवर्तन गर्ने विषय सरकारको क्षेत्राधिकारमा पर्ने भए पनि नियमनकारी निकायका रूपमा सेबोनले आफ्नो जिम्मेवारीभित्र पर्ने सुधारका काम अघि बढाउनेछ।
अध्यक्ष भट्टले नेप्सेको साइबर सुरक्षा, सूचना प्रविधि प्रणाली, सुशासन तथा संस्थागत क्षमता सुधारमा विशेष ध्यान दिइएको बताए। पछिल्लो समय पुँजी बजारमा प्रविधिको प्रयोग बढ्दै गएकाले कारोबार प्रणालीको सुरक्षा र विश्वसनीयतालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
यससँगै पुँजी बजारमा इन्ट्राडे कारोबार तथा डेरिभेटिभ्स कारोबार प्रणाली ल्याउने तयारी समेत भइरहेको छ। बजारलाई थप आधुनिक र विविध बनाउन यस्ता उपकरणको विकास तथा कार्यान्वयनतर्फ अघि बढ्ने सेबोनको योजना छ।
यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को सुधारका लागि अर्थ मन्त्रालयबाट प्राप्त २१ बुँदे निर्देशन कार्यान्वयनको प्रक्रिया पनि सुरु भएको छ।
सीडीएससीलाई भविष्यमा ‘सेन्ट्रल काउन्टरपार्टी’ का रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष भट्टले बताए। सेन्ट्रल काउन्टरपार्टीको व्यवस्था लागू भएपछि सेयर कारोबारको सेटलमेन्ट प्रक्रियामा थप सुरक्षा तथा ग्यारेन्टीको व्यवस्था हुने अपेक्षा गरिएको छ।
यसले कारोबारमा संलग्न पक्षबीच उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनलाई थप व्यवस्थित बनाउने सेबोनको विश्वास छ।






Leave a Reply