
काठमाडौँ- साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन गत बिहीबार दोहोरो अंकले बढेको बजारमा सोमबार भने गिरावट आएको हो।
नेप्से परिसूचक १६.४७ अंकले घटेर २,६१३.३३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.३४ अंक, फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंकले घटेका छन्।
नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार कारोबार रकम घटेर ५ अर्ब ३८ करोडमा सीमित भएको छ।
यस दिन ३५७ वटा कम्पनीका ५८ हजार ५०० पटकको कारोबारमार्फत १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँमा किनबेच भएको छ।
सबैभन्दा धेरै कमाउने: १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढेको छ। त्यस्तै, ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२ को मूल्य १० प्रतिशत तथा ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३ को मूल्य करिब ९ प्रतिशतले वृद्धि भएको छ।
सबैभन्दा धेरै गुमाउने: हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक १०.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३८ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
त्यसैगरी, शिवम् सिमेन्ट्सको साढे २९ करोड रुपैयाँ नाघेको छ भने हाथवे इन्भेष्टमेन्टको करिब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ।कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको सूचक घटेको छ भने व्यापार उपसमूहको परिसूचक मात्र सामान्य अंकले बढेको छ।
सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको परिसूचक १.२० प्रतिशतले घटेको छ। त्यसैगरी जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।






Leave a Reply