
काठमाडौं – साताको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा झरेको छ। पछिल्ला तीन कारोबार दिनदेखि लगातार बढिरहेको नेप्से यस दिन भने घटेर बन्द भएको हो। बुधबार सेन्सेटिभ इण्डेक्स ६.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अंकले घटेको छ।
यस दिन शेयर बजारको कारोबार रकम पनि घटेको, छ। अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब ५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ३५२ स्टकको ५७ हजार ९४७ पटकको कारोबारबाट ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। यस क्रममा २ करोड १६ लाख २२ हजार कित्ता शेयर कारोबार भएको छ।
बुधबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १७५ रुपैयाँले बढेर १ हजार ३४१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको हो। अन्य स्टकहरूको मूल्य वृद्धिदर भने साढे ५ प्रतिशतभन्दा कम रहेको छ। यता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।
यस दिन नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्। पछिल्ला तीन कारोबार दिनको वृद्धिपछि बुधबार बजारमा गिरावट आएको हो।






Leave a Reply