
काठमाडौँ -साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ। परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स २.७१ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले बढेका छन्।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार आएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन कारोबार रकम बढेर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँ पुगेको छ। बजारमा कुल ३५६ वटा स्टकको ७० हजार ६९१ पटकको कारोबारमा २ करोड १५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।
यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ता आकर्षित हुँदा शेयरमूल्य ७९ रुपैयाँले बढेर ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले बढेको छ। अर्कोतर्फ, कारोबारमा आएको स्नो रिभर्सको शेयरमूल्य भने सर्वाधिक ८.२३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड ४० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। यसैगरी, हिमालयन डिष्टिलरीको करिब साढे ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूहको परिसूचक घटेको छ। यस दिन ‘अन्य’ उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचकमा पनि सामान्य अंकको सुधार देखिएको छ।






Leave a Reply