
प्राविधिक समस्याका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाप्रति गम्भीर चासो देखाएको छ।
बोर्डले नेप्सेलाई ७२ धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याको विस्तृत अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
नेप्सेले सञ्चालनमा ल्याएको टीएमएस प्रयोग गरिरहेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर रहेको डेटा सेन्टरमा र्यान्समवेयर आक्रमण भएको जनाइएको छ। डेटा सेन्टर ‘डेटा हब प्रालि’मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएपछि त्यसको समाधानका लागि प्रयास भइरहेको थियो। तर, समस्या पूर्ण रूपमा समाधान हुन नसकेपछि कारोबार प्रणालीमा थप असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र कारोबार रोक्ने निर्णय गरेको थियो।
बोर्डले कारोबार स्थगित गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा कारण पहिचान गर्न नेप्सेलाई निर्देशन दिएको छ। साथै, यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन आवश्यक प्राविधिक तथा सुरक्षा सुधारका उपायसमेत समेटेर प्रतिवेदन तयार गर्न भनिएको छ।
नेपाल धितोपत्र बोर्डले उक्त अध्ययन तथा जाँचबुझसम्बन्धी प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई समयसीमा तोकेको छ।
घटनाबाट प्रभावित कारोबार प्रणालीको सुरक्षा, डेटा सेन्टरको प्राविधिक अवस्था तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अपनाउनुपर्ने सुधारका विषय प्रतिवेदनमा समेटिनुपर्नेछ।






Leave a Reply