
काठमाडौं -लगातार तीन कारोबार दिन बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने घटेर बन्द भएको छ। पछिल्ला तीन दिनमा नेप्से १०२.०६ अंकले बढेपछि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेसँगै बजारमा करेक्सन देखिएको हो।
बुधबार नेप्से परिसूचक २१.१९ अंकले घटेर २,६१२.४२ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ३.७७ अंक, फ्लोट इन्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले घटेका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। मंगलबार ८ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३५० वटा स्टकको ५५ हजार ८३१ पटकको कारोबारबाट ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँ बराबरका १ करोड ५१ लाख १ हजार कित्ता शेयर किनबेच भएका छन्।
यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ। हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य पनि करिब साढे ५ प्रतिशतले वृद्धि भएको छ।
अर्कोतर्फ, कारोबारमा आएको एनएमबी हाइब्रिड फण्ड एल–२ को इकाई मूल्य सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ। रिज लाइन इनर्जीको शेयर मूल्य पनि ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २५ करोड रुपैयाँभन्दा बढी र शिवम् सिमेन्ट्सको साढे १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बुधबार १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जलविद्युत उपसमूहमा सर्वाधिक १.०४ प्रतिशतको गिरावट आएको छ। जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी घटेको छ भने निर्जीवन बीमा उपसमूह करिब १ प्रतिशतले घटेको छ।






Leave a Reply